पथरी, २४ साउन । राष्ट्रिय भूमि आयोगको काम कारबाहीमा सघाउन बनेको मोरङको पथरी शनिश्चरे नगरस्थित सहजिकरण समितिको आजको बैठकले प्रत्येक वडामा वडास्तरीय सहजिकरण समिति गठनको निर्णय गरेको छ ।

नगरस्तरीय सहजिकरण समिति संयोजक एवम् नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको बैैठकले एक साताभित्र वडागत सहजिकरण समिति गठन गरी आयोगको नाप नक्साको कामलाई अघि बढाउने निर्णय गरेको हो । राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधि सहितको सहजिकरण समितिले कामलाई सहज बनाउन सहयोग पुर्याएर भूमिमाथिको समस्या समाधानका लागि अघि बढ्ने निर्णय भएको छ ।

अघिल्ला आयोग वा कार्यदलले पुरा गर्न नपाएका अधुरा कामसँगै नयाँ नापीको कामलाई पनि नगरस्थित आयोगको सेवा केन्द्रमार्फत अघि बढाइने नगर प्रमुख तुम्बापोले जनाउनु भयो । हाल वडा नम्बर ८ र १० मा अधुरो रहेको काम पुरा गर्न नापी कार्य अघि बढेको छ ।



















