•            तारा पराजुली                                                       

यही घर हो

जहाँ मेरी आमाले 

कलिलो इतिहास लेखिन् ।

आमाले पहिलो श्वास फेरेको हावा 

 अझै यिनै पोथ्राहरुमा अल्झिएको होला

यहीँ खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु

यही माटोमा जन्मिएको हो ओठको पहिलो खुसी 

आमाले ताते ताते गर्दै हिंड्न् सिकेको माटो पनि यही हो

यही छानामा बजेको सुनेको हो 

झरीको पहिलो गीत

यिनै पाखोबारीमा हेरेको हो

घामको सुकिलो ऐना

र यही माटोको सिरानी माथि 

देखेको हो जीवनकै पहिलो सपना ।

यिनै झ्यालढोकाबाट भित्रिएको उज्यालोमा  पढेको हो

आमाले जीवनको पहिलो बर्णमाला

र कण्ठस्थ पारेको हो 

गोलो पृथ्वीको परिभाषा ।

आमाले धर्ती टेक्नासाथ

च्यार्रर्र गरेको पहिलो आवाज बोकेर 

बतास कहाँ पुग्यो होला

अझै त्यहीँ र त्यस्तै छ मेरो मामाघर।

सांच्चै भन्नुपर्दा

यही आंगनबाट छुटेको हो

आमाको जीवनको अर्को राजमार्ग ।

हत्केलाका रेखाभन्दा धेरै

किरिङ्मिरिङ गोरेटोहरु

मधुरा गल्लीहरु

बाटो, दोबाटो र चौबाटाहरु

व्यस्त सडक

थुप्रै थुप्रै

रङ्गीन पुस्ताहरुको फेहरिस्त 

कलात्मक प्रेम

यस्तै यस्तै

धेरै कुरा छन् मामाघरमा।

मखमली याम

अजम्मरी उत्सवहरु उतै छन् ।

भनेर नसकिने 

धेरै कुरा छन् मामाघरमा।

सबैभन्दा ठूलो कुरा-

मेरो जवान उमेरलाई

सधैं बालकजस्तै बनाउने

महान शक्ति छ 

मामाघरमा।

कवि : पाराजुली बेलबारी नगरपालिका मोरङको निबर्तमान उपप्रमुख हुनुहुन्छ |