काठमाडौं,१५ पुस । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटिले विदेशबाट घर फर्किदा साथमा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार लाग्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले विज्ञप्ति जारी गर्दै सरकारको सो निर्णयप्रति बिहीबार आपत्ति जनाएका हुन् ।
“नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकहरूको हितविपरितको कार्य भएकाले नेपाल सरकारको यस निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।
विदेशमा वर्षौंसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीमाथिको शोषण भएको सो संस्थाले भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, “लाखौं प्रवासी नेपालीको विप्रेषण (रेमिट्यान्स) ले देशको मुख्य अर्थतन्त्र धानेको विषय सरकारलाई अवगत नै छ । यस्तो महत्वपूर्ण सहयोगलाई नजरअन्दाज गरी प्रवासमा रहेका नेपालीलाई शोषण गर्नेखालको उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य गर्ने नेपाल सरकारको निर्णय पक्षपातीपूर्ण एवम् अव्यवहारिक छ ।” सरकारको सो निर्णय खारेज गरी प्रवासी नेपालीको हितमा काम गर्न सो संस्थाले सरकारसँग आग्रह गरेको छ ।




















