• ✍️ आचार्य अमृत

आज २०७९/१२/०८  को कान्तिपुको दोस्रो पृष्ठको 'ज्यान जोखिममा राखेर दर्जन सन्तान' शीर्षकको समाचार-लेख त यहाँहरूको आँखामा पर्‍यो नै होला । यदि कारणवश त्यो लेख हेर्न पाउनुभएको छैन भने खोजेर पढ्नुभए राम्रै होला भन्ने मलाई लागेको छ ।

राजधानी सहर वा अन्य सहरका चिप्ला बाटाका छेउमा ठडिएका महलमा बसेर बनाइएका  महिला अधिकार र महिला अभियानका  योजनाहरूले त कान्तिपुरको त्यस लेखलाई कतैबाट पनि छुन सक्ने देखिएन । त्यो लेख पढ्दा अझै पनि महिलाहरूको अवस्था कति दर्दनाक र भयावह रहेछ भन्ने छर्लङ‌ग हुन्छ । काठमाडौँ र यहाँभन्दा पूर्वतिर बसेका महिला वा पुरुषले मात्र के बुझेका छन्/छौँ भने पश्चिमतिर छाउपडी प्रथा छ र यसबाट महिलाहरू पीडित छन् । सायद यसभन्दा अरू बढी महिलापीडाको कथा हामीले नसुनेका पनि हुन सक्छौँ ।  कान्तिपुरमा प्रकाशित उक्त लेखले महिलाहरू अझै पनि कति असह्य पीडामा बाँचिरहेका रहेछन् भन्ने कुरालाई सबैसामु ल्याइदिएको छ ।

लेखमा प्रतिनिधिमूलक रूपमा अछाम जिल्लालाई लिइएको छ र त्यहाँ पनि प्रतिनिधिमूलक रूपमा तीन जना महिलाहरूलाई प्रस्तुत गरिएको छ । लेखमा वर्णित कुरालाई बुँदागत रूपमा यसरी टिप्न सकिन्छ :

- छोरावादी चिन्तन प्रबल रूपमा रहेकाले सुरुदेखि जतिसुकै छोरी जन्मँदै गए पनि छोराका लागि महिलाहरू गर्भवती हुन बाध्य भइरहेका छन् । जन्मेकाहरू पनि कति  बाँच्छन्, कति मर्छन् र कति गर्भमै तुहुन्छन् । त्यो सब पीडा महिलाले बेहोर्नुपर्छ ।

- कतिपय  पुरुषहरू बिहे गरेपछि विवाह दर्ता गराउनै चाहँदा रहेनछन् । कारण के रहेछ भने कथंकदाचित् श्रीमतीबाट छोरी छोरी भए भने त्यही निहुँमा तिनलाई त्यत्तिकै त्याग्न पाइयोस् र अर्को विवाह गर्न सजिलो होस् भन्ने पापी चिन्तन तिनमा हुँदो रहेछ । यसरी महिलाहरूलाई टिक्नै नसक्ने बनाइँदो रहेछ ।

- छोरी जन्मँदा सुत्केरी महिला र नवजात शिशुको वास्तै नगर्ने, उसलाई दूध चुस्न नदिने गरिँदो रहेछ । छोरीको अस्तित्वलाई नै स्वीकार नगर्ने त्यस्तो समाज देखेर आजका दिनमा मलाई त कुरीकुरी लागेर आयो । आज पनि यस्तो जङ्‌गली समाज आफ्नै मुलुकमा रहेछ भनेर थाहा पाउँदा ज्यादै दु:ख लाग्यो ।

- लगातार गर्भवती भएर सन्तान जन्माउँदा जन्माउँदा थिलथिलो भएको ज्यान आधाउधो उमेरमै रोगी हुने र वार्धक्यले सताउन थाल्ने हुनु स्वाभाविक हो । यी महिलाहरूको उत्तरवृद्धावस्था त झन् पीडादायी हुने निश्चित छ ।

लेखमा वर्णित अम्बी विक, पाटु विक र बेलुदेवी ढुङ्‌‌गानाको अवस्था नै धेरथोर सबैको अवस्था हो । यस्ता कुरामा तपाईँ  महिला अधिकारकर्मी र महिला अभियन्ताज्यूहरूको ध्यान पुगेको छ कि पुग्न बाँकी छ ? उनीहरूलाई त तपाईँहरू वातानुकूलित महलमा बस्नुहुन्छ, चिल्ला गाडीमा कुद्नुहुन्छ, महिला अधिकारका लामा लामा भाषण गर्न सक्नुहुन्छ भन्नेसम्म पनि थाहा छैन । यस्ता कुरीति हटाउनका लागि तपाईँहरूको पहल के कस्तो भइरहेको छ भन्ने लागेर यति कुरा तपाईँहरूसँग राखेँ । गर्न सके गर्ने, गर्न नसके बिल्लाचाहिँ हटाएरै बस्ता राम्रो होला ।