अहिले विश्वमा कृत्रिम बौद्धिकता (Artificial Intelligence - AI) को व्यापक रूपमा चर्चा-परिचर्चा भइरहेको छ । यसको बढ्दो चर्चा-परिचर्चाले मानवजाति केही डराएको जस्तो पनि देखिन थालेको छ । एआईको प्रयोग हुन थालेपछि विश्वमा अधिकांश मानिसहरूले रोजगारी गुमाउने सम्भावना देखिँदै छ । एकातिर शिक्षित जनशक्ति रोजगार हुन नपाएर अत्तालिएको अवस्था छ भने अर्कातिर रोजगारहरूले समेत रोजगारी गुमाउने अवस्था सृजना हुन थालेको देखिन्छ । यदि सर्वत्र त्यस्तो भयो भने के होला त संसारका मानिसहरूको हालत ? प्रश्न विचारणीय छ ।
समाचारमा आएअनुसार एआईबाट सबभन्दा बढी प्रभावित हुने भनेका टेलिमार्केटर र शिक्षक हुन सक्छन् । विशेषत: शिक्षाको माथिल्लो तह र त्यसमा पनि भाषा, साहित्य, इतिहास, कानुन, दर्शन, धर्म, समाजशास्त्र, राजनीतिशास्त्र र मनोविज्ञान विषयका शिक्षकहरू बढी प्रभावित हुन सक्ने तथ्यहरूले देखाएका छन् । विद्यालयदेखि विश्वविद्यालयका असाइनमन्ट र थेसिस लेख्नेसम्मका काम एआईबाट भएको दाबी गर्न थालिएको छ । भनिन्छ, उपन्यास लेख्नसमेत एआईको सहायताबाट सम्भव हुने भन्ने चर्चा गर्न थालिएको छ ।
के विज्ञान र प्रविधिको चरम प्रगतिको परिणाम भनेको यही हो त ? हो, माथि उल्लेख गरिएको एआई अर्थात् यन्त्रमानवबाट सम्पादन गरिने काम छिटो, सस्तो र त्रुटिरहित हुने कुरामा कुनै शङ्का छैन तथापि मानिसले प्राप्त गरेको अथाह ज्ञान, बुद्धि र अनुभवलाई उपयोगहीन बनाउनुचाहिँ कत्तिको सान्दर्भिक होला भन्ने प्रश्न पनि यत्रतत्र सर्वत्र सुनिन थालेको छ । यसो हुने हो भने त मानिस आफूले खनेको खाल्डामा आफैँ जाक्किएजस्तो भएन र ?
[ उपेन्द्रराज पाण्डेयद्वारा लिखित र मिति २०७९/१२/१५ मा 'कान्तिपुर' मा प्रकाशित 'के च्याट जीपीटीले जागिर खोस्छ ?' शीर्षक लेखका आधारमा ]
कौशलटार, मध्यपुर ठिमी, भक्तपुर ।



















