• ✍️ आचार्य अमृत 

प्रत्येक व्यक्तिले आफ्नो छनोटको मूल विषयको शैक्षिक योग्यता हासिल गर्ने कुरो त प्राथमिक सर्त भइहाल्यो, जुन युगौँदेखि चल्दै आएको छ । तर मेयर बालेनको  के सुझाव रहेको सुनियो भने प्रमुख योग्यताका अतिरिक्त कम्तीमा थप एउटा सिप पनि आधिकारिक रूपमा सिकेकै हुनुपर्छ, बढीमा जतिओटा पनि सिक्न सकिन्छ, अर्थात् जति बढी सीप सिकेको छ, त्यति नै व्यक्ति लाभान्वित हुन्छ  । 

"मैले फलानो विषयमा फलाना फलाना विषयमा मास्टर्स गरेको छु, फलानो विषयमा पीएचडी गरेको छु" भनेर मख्ख परेर बस्ने दिन अब छैनन् । आफूले प्राप्त गरेको शैक्षिक योग्यताबाट कुनै रोजगारी मिल्न सकेन भने पनि कुनै सिप सिकेको छ भने उसले त्यही सिप प्रयोग गरेर सानदार रूपले जीवन जिउन सक्छ । यदि उससँग एउटै विषयको मात्र ज्ञान छ भने सेवानिवृत्त भइसकेपछि ऊ साँच्चैको निकम्मा बन्ने रहेछ । यदि उसले सिलाइबुनाइको काम पनि सिकेको थियो भने शरीरले दिउन्जेल उसले त्यो काम गर्न सक्थ्यो । यसैगरी छन्दोबद्ध कविता वाचन गर्ने सिप आर्जन गरेको थियो भने त्यसबाट पनि ऊ लाभान्वित हुन सक्थ्यो । साना गाडी हाँक्न सक्थ्यो, टेलिभिजन वा मोबाइल मर्मत गर्न सक्थ्यो, सङ्‌गीत बनाउन सक्थ्यो, गायन गर्न सक्थ्यो, नृत्य सिकाउन सक्थ्यो, जीवनोपयोगी पुस्तक लेख्न सक्थ्यो, योग-प्राणायाम गुरु बन्न सक्थ्यो, चित्र बनाएर प्रदर्शन गर्न सक्थ्यो, केही जमिन लिजमा लिएर तरकारी खेती गरेर आम्दानी गर्न सक्थ्यो, फोटोग्राफी चलाउन सक्थ्यो, सामग्री कम्प्युटर गरेर आय आर्जन गर्न सक्थ्यो, गृहनिर्माणमा संलग्न हुन सक्थ्यो । यस्तै यस्तै यस्तै अनेकौँ सिप सिकेर सेवानिवृत्तपछिको जीवनमा पनि उसले आफूलाई व्यस्त राख्न सक्थ्यो, जुन स्वस्थ रहन र दीर्घजीवन जिउन उसलाई निकै सजिलो हुन्थ्यो ।

तर हाम्रो सोचाइ गतिलो छैन । जुनसुकै पेसाको पनि उत्तिकै महत्त्व हुन्छ र ती पेसालाई जो कोहीले जहिलेसुकै पनि अँगाल्दा हुन्छ भन्ने कुरामा हाम्रो समाज व्यावहारिक रूपमा धेरै पछाडि छ । प्रोफेसर  भएको मान्छेले पनि भाडाको गाडी हाँकेर हिँड्ने हो ? मावि प्रथम श्रेणी भएर सेवाबाट अवकाश लिएको व्यक्तिले पनि फोटो खिचेर हिँड्ने हो ? यही दरिद्र चिन्तनले गर्दा शारीरिक रूपमा सक्षम हुँदाहुँदै पनि हामी अकर्मण्य बनिरहेका छौँ । आफू सेवामा रहँदा राम्रो प्रतिष्ठा कमाएकाहरू पनि सेवानिवृत्त भइसकेपछि काम न काजका भएर देखा पर्ने गरेका छन् । म देख्छु, त्यस्ता सृजनशीलता भएकाहरू त्यसको प्रयोग नगरी दिनभरि तास खेलेर दिन बिताइरहेका हुन्छन् वा त्यस्तै केही महत्त्वहीन काममा लागेका हुन्छन् । बाराक ओबामाले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि पुन: आफ्नो पुरानो प्राध्यापन पेसामा फर्किएको देखी  देखी  पनि हामी आफूलाई तीभन्दा बडा सम्झेर अर्थ न बर्थ फोस्रो र खोक्रो रूपले  गमक्क परेर बसिरहेका छौँ । मुलुक उँभो लाग्न नसक्नु यही चिन्तनको दरिद्रताले गर्दा  हो ।

मेयर बालेन्द्रको सम्बोधनले मलाई यति लेख्न सहयोग पुर्‍यायो । यस अवसरमा म उहाँलाई साधुवाद भन्दछु ।