नूर अल हसन सुतेर खाना खान्छन् किनभने बसेर खाने कोसिसमा उनको हात टेबलसम्म पुग्न सक्दैनँ र बीचमा पेट आउँछ ।

उनी सुत्दा घोप्टो परेर सुत्छन् किनभने सिधा सुत्दा उनलाई सास फेर्न गाह्रो हुन्छ । पाकिस्तानको सुबा पंजाब शहर सादिकाबादमा बस्ने साठी वर्षका नूल अल हसन पछिल्लो आठ वर्षदेखि यस्तै हातलमा बाँच्न बाध्य भएका छन्  यसको कारण हो उनको असामान्य तौल जुन यतिबेला ३ सय ३० किलो छ ।

उनको जीवन घरको एउटा कोठासम्म मात्र सिमित थियो र उनको दिशा–पिसाबका लागि एउटा कुर्सी उनकै कोठामा राखिएको थियो । नूर अल हसनलाई हालै सेनाको एउटा एयर एम्बुलेन्समार्फत् लाहौर ल्याइयो । त्यहाँको शालीमार अस्पतालमा उनको उपचार चलिरहेको छ । मोटोपना कम गर्नका लागि उनको शल्यक्रिया गरिनेछ ।

अस्पतालमा उनका लागि एउटा विशेष खाट तयार गरिएको छ । त्यहाँ डक्टरको निगरानीमा उनी धेरै वर्षपछि कोल्टो परेर सुत्न सकेका छन् । अब उनलाई मोटोपना कम गर्नका लागि लेप्रोस्कोपिक सर्जरीका लागि तयार गरिँदैछ । अस्पतालको बेडमा सुतिरहेका नूर उल हसनले १० वर्षदेखि घरमै सिमित हुनुपरेकोमा आफूलाई  कैद महसुस गर्ने गरेको उनले बताए ।

‘म तपाईंलाई के भनुँ । मेरो आफ्नै भतिजोको मृत्यु भयो तर म उसको अन्तिम संस्कारमा पनि जान सकिनँ । म उभिन सक्दिनथेँ । न बस्न नै सक्थेँ ।’ नूर अल हसनका अनुसार उनलाई आफ्नो जीवन देखेर दिक्क लाग्न थालिसकेको थियो । उनी भन्छन्, ‘मलाई कसैले भनेको थियो कि मोटोपनाको त उपचार हुनै सक्दैनँ । मैले अल्लाहसँग कि त मलाई सम्हाल्न वा सुखीको दिन देखाइदिन प्रार्थना गरेँ ।’

उनको तौल किन यसरी बढ्यो ?

मोटोपनाको शिकार हुनुअघि नूर अल हसन ट्रक चलाउँथे । अली सुस्त उनी धेरैजसो बसिरहन्थे । आफूलाई यत्तिका तौल बढ्न प्रेरित गर्ने कुनै रोग पनि नलागेको नूर अल हसनले दाबी गरे । उनी खानको समेत शौखिन नभएको बताउँछन् । उनी भन्छन्, ‘म भोक लाग्दा मात्र खान्थेँ । एक प्लेट अचारसँग दुईवटा रोटी ।’

नूर उल हसनका अनुसार उनको ढिला सुस्ती गर्ने बानीले नै उनको तौल बढ्यो ।‘म खाना खाएपछि बस्थेँ । खाना खाएपछि गाडीको स्टेरिङ समाउँथे र गाडी चलाइरहन्थेँ ।’सुरुमा उनको तौल बिस्तारै बढ्न सुरु भयो । तर उनले त्यसलाई ध्यान दिएनन् ।‘म व्यायाम गर्दिनथेँ, हिँड्दैनथेँ र पसिना आउने कुनै पनि काम गर्दिनथेँ ।’

उनको तौल जतिजति बढ्न थाल्यो उनी पहिलेको भन्दा सुस्त हुन थाले । यस्तो समय आयो कि उनले हिँड्न–डुल्न पनि कम गरिसकेका थिए । जुन क्रमशः बढ्दै गयो र अन्ततः पूर्ण रुपमा बन्द भयो ।डाक्टरका अनुसार त्यसपछि उनको तौल अत्यधिक बढ्न सुरु भयो । पछिल्लो १० वर्षमा उनको तौल डेढ सय किलो बढेको छ ।

लाहौरको अस्पताल कसरी पुगे ?

नूर अल हसनका अनुसार उनले मद्दतका लागि धेरैलाई गुहारे तर कसैले सहयोग गरेनन् । दुई वर्षअघि उनले लाहौरको एक डाक्टरसँग कुराकानी गर्दा शल्यक्रिया र उपचारमा १० लाख रुपैयाँसम्म खर्च हुनसक्ने बताएको जानकारी दिए । आफूसँग त्यति धेरै पैसा नभएका कारण उनी चुप लागेको बसेको बताए ।

एक वर्षअघि जब उनीबारे समाचार प्रकाशित भयो तब लाहौरका चर्चित लेप्रोस्कोपिक सर्जन डाक्टर माज अल हसनलाई उनीबारे धेरै जानकारी प्राप्त भयो । डाक्टर माजले उनलाई  सम्पर्क गरे र निःशुल्क उपचार गराउने आश्वासन दिलाए ।

बीबीसीसँगको कुराकानीमा डाक्टर माज उल हसनले उपचारका लागि उनले ६ महिना अघिदेखि नूर उल हसनलाई प्रोटिन खुवाउन सुरु गरेको जानकारी दिए ।

‘यसअघि उनको तौल ३ सय ६० किलो थियो तर समस्याको कुरा के थियो भने उनलाई लाहौर कसरी ल्याउने ?’

सादिकाबादबाट लाहौर पुग्न बसमा आठदेखि ९ घण्टा लाग्छ । यस्तोमा खतरा यो थियो कि यति धेरै तौल भएका मानिसको रगत जम्न सक्थ्यो । त्यसकारण उनलाई हवाई एम्बुलेन्समा ल्याइयो ।

नूर अल हसनले सोसल मिडियामा आफ्नो भिडियो साझा गरेर मानिसहरुसँग मद्दत पनि मागेका थिए । अन्त्यमा उनलाई पाकिस्तानी सेनाको हेलिकोप्टरले लाहौर पुर्यायो ।

डाक्टर माजका अनुसार पाकिस्तानमा मोटोपनाका बिरामीलाई एयर एम्बुलेन्सबाट ल्याइएको यो पहिलो घटना हो ।

डाक्टर माजका अनुसार जब नूल अल हसनलाई अस्पताल ल्याइयो तब उनका सबै महत्वपूर्ण अंगले सामान्य रुपमा काम गरिरहेको थियो । उनलाई विशेषज्ञ डाकटरको निगरानीमा राखिएको थियो ।

‘जबसम्म म दुई सय प्रतिशत सन्तुष्ट हुन्नँ तबसम्म म अपरेशन थिएटरभित्र जादिनँ ।’

तीन सय बढी तौल भएका जुन व्यक्तिको उनले यसअघि शल्यक्रिया गरेका थिए, उनीहरु सबै जवान भएको उनले बताए ।‘पाकिस्तानमा यस्तो प्रकारको यो पहिलो शल्यक्रिया हो ।’

नूर उल हसनको शल्यक्रिया कसरी हुनेछ ?

डाक्टर माजका अनुसार नूल अल हसनका शल्यक्रिया जुन तरिकाले गरिन्छ त्यसलाई लेप्रोसोकोपिक सिलियो ग्याट्रिटमी भनिन्छ । यो शरीरमा प्वाल पारेर गरिने शल्यक्रिया हो जसमा बिरामीको पेट चिरिँदैन ।

उनका अनुसार यो शल्यक्रियापछि दुई वर्षपछि बिरामीको तौल डेढ सयदेखि दुई सय किलोसम्म कम हुन्छ ।

‘जब नूर उल हसनको तौल कम हुनेछ तब उनको शरीरको बोसो लत्रिनेछ जसलाई प्लास्टिक सर्जरीमार्फत काटेर मिलाइन्छ ।’

डाक्टर माजका अनुसार नूल अल हसनको तौल बढ्नुको प्रमुख कारण उनको सुस्तता हो ।

‘जब तपाईं एक विशेष हदसम्म तौल बढाउनुहुन्छ र बसिरहनुहुन्छ भने तपाईंको शरीरभित्र जाने सामान्य खाना पनि बोसोमा परिवर्तन हुन सुरु हुन्छ ।’

१० वर्षसम्म नूर अल हसन जब घरमा मोटोपनाका कारण कैद भए तब उनकी श्रीमती र छोरीहरुले अरुको घरमा काम गरेर घर खर्च चलाए ।

उनलाई आशा छ कि उनी ठिक भएपछि परिश्रम पर्ने कामको खोजी गर्नेछन् ।