• ✍️  आचार्य अमृत 

कुरो पचासको दशकको हो, जुनबेला म माध्यमिक तहको अङ्ग्रेजी विषय शिक्षण गर्ने शिक्षकका रूपमा कार्यरत थिएँ । त्यसबेला हिजोआजजस्तो धेरै विद्यालय थिएनन्, त्यसैले ४/५ किलोमिटर टाढाको दुरीबाट पनि विद्यार्थीहरू साइकलमा वा पैदलै हिँडेर पनि विद्यालयहरूमा आउने गर्थे । म कार्यरत विद्यालयमा पनि केही टाढैबाट विद्यार्थीहरू आउने गर्थे । कतिपय विद्यार्थीहरू आफ्नो पायकको विद्यालय छोडेर पनि अपायक पर्ने विद्यालय धाएर पढ्ने गर्थे । यसको एउटा कारण के थियो भने अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरू कहाँ कस्ता छन् भनेर बुझ्ने गरिन्थ्यो र चित्त बुझ्ने भएमा त्यस विद्यालयमा विद्यार्थीहरू भर्ना हुन आउने गर्थे । अर्को कुरा, ती विषयमा ट्युसन पढ्न पाउने सम्भावना कति छ, त्यो पनि भर्ना हुनुभन्दा अगाडि बुझ्ने गरिन्थ्यो ।

म त्यस विद्यालयमा आएपछि त्यो 'केमिस्ट्री' मिल्न गएछ र त्यस विद्यालयमा उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरू थिए । यो कुरो यस्तै थियो ।

अब म भन्न खोजेको खास कुरातिर लाग्छु । अहिले म एकजना विद्यार्थीलाई सम्झँदै छु, जो विद्यालयबाट तीन किलोमिटरको दुरीबाट आउँथे । म आउँदा उनी कक्षा ९ मा थिए । कक्षा लिन थालेको केही दिनपछि नै मलाई थाहा भयो, उनी पढाइमा निकै कमजोर छन् । हेर्दा कक्षामा खाइलाग्दो विद्यार्थी भने उनै मात्र थिए । विद्यालयमा विद्यार्थी पोसाक त कायम गरिएको थियो, तर ३०% जति विद्यार्थीहरू विद्यालय पोसाकमा आउँदैनथे । त्यो देखेर मलाई अचम्म त लाग्यो, तर विद्यालयले त्यसलाई त्यतिबेला नियन्त्रण गर्न सकेको रहेनछ भनेर बुझ्नुपर्ने भयो । 

जुन विद्यार्थीका बारेमा म केही लेख्न खोज्दै छु, ती पैसावाल अभिभावकका छोरा थिए । उनका गोजीमा सधैँ एक हजारका २/३ ओटा नोट हुन्छन् भन्थे उनका साथीहरू, जुन कुरो त्यसबेला पत्याइसक्नु हुँदैनथ्यो । घुँडासम्म आउने बुटजुत्ता लगाउने, पछाडि फर्काएर ह्याट लगाउने, बेलाबेला कक्षाका साथीहरूसँग झगडा गर्ने, गृहकार्य नगर्नेजस्ता अनेक कमजोरी उनमा देख्न सकिन्थ्यो । परिणाम भयो, त्यस वर्षको वार्षिक परीक्षामा उनी कक्षा चढ्न असमर्थ भए ।

नयाँ कक्षा सुरु भयो । कक्षा ८ मा पढ्दै गरेका भाइ उत्तीर्ण भएर कक्षा ९ मा आए । अब दाजुभाइ सँगै भएपछि दाजुको प्रगति होला कि भन्ने झिनो आशा थियो, साथै अब पढाइ नै छोड्ने हो कि वा अर्को विद्यालयमा जाने हो कि भन्ने आशङ्का पनि उत्तिकै थियो । 

माघ २ गतेदेखि कस्सिएर त्यस वर्षको पढाइ सुरु भयो, अर्थात् सातै घन्टी पढाइ हुन थाल्यो ( त्यतिबेला पुस १ गतेदेखि शैक्षिक वर्ष सुरु हुन्थ्यो ) । तर ती विद्यार्थी त्यस दिनसम्म पनि विद्यालयमा देखा परेनन्, के भएर हो भाइलाई पनि उनीबारे सोधिएनछ भन्नुपर्‍यो । एकैचोटि उनी देखा परे माघको २२ गते । सबै विषयको पहिलो पाठ पढाइ भइसकेको थियो । कुनै विषयको त दोस्रो पाठ पनि सिद्धिन लागेको थियो ।

उनी कक्षा लिन थाले तर चालढाल उस्तै छ । झन् आफूभन्दा कम उमेरका साथीहरूसँग बसेर छ घण्टा कटाउनुपर्ने कुराले उनको मनोविज्ञानमा आघात परेको हुनुपर्छ भनेर अनुमान लगाउन सकिन्थ्यो । अरू स्कुलमा नगएर फेरि यसै विद्यालयमा आउनु भनेको निश्चय नै उनी पढ्न चाहन्छन् भन्ने अर्थ मैले लगाएँ । अरू गुरुहरूसँग कहिलेकाहीँ मुख लाग्ने गरेको भन्ने पनि सुनिन्थ्यो, तर मसँग भने उनी कहिल्यै त्यसरी मुख लागेका थिएनन्, तर पुरानो स्वभावमा कुनै भिन्नता आएको देख्न सकिन्नथ्यो ।

त्यतिबेला गर्मी चढ्न लागेपछि अर्थात् चैतको १५ देखि वैशाखसम्ममा बिहानी कक्षा गर्ने चलन थियो तराईका विद्यालयहरूमा । त्यो क्रम बर्खे छुट्टी नहोउन्जेल कायम रहन्थ्यो । त्यो वर्ष पनि बिहानी कक्षा सुरु भयो । ११:१५ मा कक्षा सिद्धिन्थ्यो ।

एकदिन मैले उनलाई बोलाएर भनेँ, "भाइ, तिमी दिउँसो के गर्छौ अब ?" उनले भने, " गर्मीमा बाहिर निस्कन सकिँदैन", बेलुकीतिर बल खेल्छु साथीहरूसँग ।" मैले थपेँ, " अब यसो गरौँ, तिमीहरू दाजुभाइ नै समय मिलाएर मसँग ट्युसन पढ्न आओ, १५ दिनसम्म लगातार आओ । त्यसबेलासम्म केही बुझ्यौ भने मलाई शुल्क पनि तिर्नू, होइन र केही पनि बुझेनछौ भने म १५ दिन पढाएको शुल्क लिन्नँ, हुन्छ ?" उनले "हुन्न" भन्न सकेनन् ( त्यसो त भाइलाई  ट्युसन पनि त्यति आवश्यक थिएन, तर दाजुलाई भाइसँग आउन सहज होला भनेर त्यसो भनेको थिएँ ) । भोलिपल्टदेखि आउने कुरा भयो, १ बजेदेखि २:३० सम्मको समय मिलाइदिएँ । दुवै जना आआफ्ना साइकलमा आउने हुन्, कुनै समस्यै थिएन ।

अब तिनलाई ट्युसन पढाउन सुरु गरियो । मैले पढाउने अङ्ग्रेजी मात्र हो । पढाउँदै गएँ, गृहकार्य दिँदै गएँ, आनुहारिक प्रतिक्रिया पनि हेर्दै गएँ । भनेको कुरा दुवैले गर्दै गए । आफूलाई पनि सन्तोष लाग्न थाल्यो । 

१० दिनका दिन "सर, यो फि" भन्दै दुवै भाइको शुल्क लिएर मलाई दिन खोजे तिनै दाजुले । मैले "अनि आजै किन ? मैले ता १५ दिनपछि पढ्ने कि नपढ्ने निधो भएपछि मात्रै पढ्ने भएमा दिनू भनेको थिएँ त" भनेँ । " होइन सर, हामी लगातार नै पढ्ने भयौँ, अझ सरले लिनुहुन्छ भने असारसम्मकै फि पनि बुझाउन सक्छु", उनले भने । "महिना दिन त पुगोस्, अनि १/१ महिनाको गरी दिँदै जानू, आज म लिन्नँ", मैले आफ्नो भनाइ राखेँ । "हुन्छ त सर" भन्दै दिन खोजेको त्यो पैसा उनले आफ्नो पर्सभित्र राखे ।

दिन  बित्तै गए । उनको आनीबानी उल्लेख्य रूपमा फेरियो । कक्षामा "Who can answer this ?" भनेर सोद्धा first, second र third विद्यार्थी उठ्न नपाउँदै उनी उठेर ठिक उत्तर दिन सक्ने भए । हस्तलेखनमा पनि उस्तै प्रगति गरे । केही समयपछि गणित पनि त्यसरी नै पढ्न थालेछन् । भाइको त्यस्तो कुनै समस्या थिएन ।  दाजुले जुन प्रगति गरे, जेठको अन्तिम सातामा भएको अर्धवार्षिक परीक्षाको नतिजामा त्यो प्रगति अनुभव गर्न पाइयो, उनले सबै विषय उत्तीर्ण गरेछन् । मङ्सिरमा भएको वार्षिक परीक्षा पनि विषय नलागी उत्तीर्ण गरे । एक वर्षपछि भएको एसएलसी परीक्षा higher second division मा उत्तीर्ण गरे । त्यसपछि लामो समयसम्म तीसँग मेरो भेट भएको थिएन ।

करिब सात वर्ष बितिसकेको थियो । छुट्टीको दिन दिउँसो म घरमै थिएँ । "सर" भन्ने आवाज सुनेँ र बाहिर हेरेँ । बडो हँसिलो अनुहारको एउटा युवालाई देखेँ । "ए हे टीका भाइ, कहाँबाट हौ यसबेला !" भनेँ  ( अहिलेसम्म नाम जोगाउँदै आएको थिएँ, अहिले फ्याट्ट नाम आइहाल्यो ) । माथि बोलाएँ । उनी मात्रै थिए, माथि आए । उनले ढोग्नसमेत खोजे, तर मैले यसो निहुरिन खोज्दै उठाइहालेँ । केही कुराकानी भए । एसएलसी गरेपछि उनले आईए गरेछन् मुख्य विषय अङ्ग्रेजी र अर्थशास्त्र लिएर । अनि उनी हङकङ गएछन् । उतै कुनै काम गर्न थालेछन् । महिना दिन बस्ने गरी आएका रहेछन् । "सर नहुनुभएको भए म कामै नलाग्ने मान्छे हुने रहेँछु, मैले आफूले चासै नराख्ता पनि सरले त्यसरी मलाई पढ्न उत्प्रेरित गर्नुभयो र आज म पनि केही हुँ भन्ने अवस्थामा पुगेँ । सरको ऋण तिरेर त सक्तिनँ म तर पनि सर, यसो सानो भेट" भन्दै एउटा बट्टा थमाए । तत्काल खोलेर हेर्न सभ्यता ठानिनँ र त्यत्तिकै राखेँ । "म आएका बेला निस्किरहन्छु, सर " भन्दै उनले बिदा लिए । उनी गएपछि बट्टा खोलेर हेरेँ, हङकङमा बनेको घडी रहेछ ।

यस घटनाले मलाई समेत पाठ पढायो । कुनै पनि मान्छे जन्मजात कामै नलाग्ने हुँदैन ।जन्मेर हुर्कँदै गर्दा उसको सङ्‌गत र परिवेशले  उसलाई सपार्ने वा बिगार्ने हुँदो रहेछ । स्कुलको प्रशासनसमेत हच्केको अवस्थामा रहेको एउटा विद्यार्थी कसरी ठिक ठाउँमा आयो र त्यसको श्रेयसमेत दिई कृतज्ञता ज्ञापन गर्न सक्यो, यो निश्चय नै चानचुने कुरो होइन भन्ने मेरो ठहर छ । टीका भाइ सप्रेको त्यो क्षण सम्झँदा मलाई सधैँ गौरवबोध हुने गर्छ ।